काठमाडौं । रंग उत्पादन गर्ने कम्पनी एभरेष्ट कलर लिमिडेटको पहिलो साधारणसभाले सर्वसाधारणलाई चुक्ता पूँजीको १५ प्रतिशत साधारण सेयर निस्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शनिबार सम्पन्न साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।सोही साधारणले सभाले संस्थापक सेयरधनीका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकको पनि चयन गरेको छ ।
स्वदेशी युवाहरुको लगानीमा गुणस्तरीय एभरेष्ट कलर उपभोग गरेर आयात प्रतिस्थापन गर्ने, रोजगारीको सिर्जना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्याउने उद्देश्य लिएर १४ बर्षअघि एभरेष्ट कलर कम्पनी स्थापना भएको हो ।
कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी २६ करोड रुपैयाँ छ । त्यसमध्ये संस्थापक सेयरधनीले २२ करोड १० लाख रुपैयाँ चुक्ता गरिसकेका छन् । सर्वसाधारणलाई १५ प्रतिशत सेयर निस्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्ने छ ।
साधारण सभाले सरोज लुईटेल, राजनलाल श्रेष्ठ, महेश्वर खनाल, रोजीना श्रेष्ठ र आत्माराम ढुँगानालाई संस्थापक सेयरधनीका तर्फबाट संचालकमा निर्वाचन गरेको छ । कम्पनीमा सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना र अर्का एक स्वतन्त्र संचालक समेत ७ जनाको संचालक समिति रहने व्यवस्था छ । निर्वाचित संचालकहरुलाई निर्वाचन अधिकृत अधिवक्ता लीलानाथ घिमिरेले प्रमाणपत्र हस्तान्तरण गरे।
एभरेष्ट कलर ५ महिनाअघि प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो । कम्पनीले १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनी सरह उच्च गुणस्तरीय कलरहरु उपलब्ध गराउने नेपाली कम्पनीको रुपमा परिचित रहँदै आएको छ ।