काठमाडौं, १५ असार –नेपाली समाजमा असार १५ केवल दही चिउराको स्वाद चाख्ने पर्व मात्र होइन, यो दिन किसानको जीवनशैली, श्रम र परिश्रमको सांस्कृतिक उत्सव पनि हो। ‘राष्ट्रिय धान दिवस’का रूपमा मनाइने आजको दिन, हरेक वर्ष हिलो छ्यापाछ्याप र असारे भाका गुञ्जिने खेतहरू अहिले भने वर्षा र मलको प्रतीक्षामा छटपटाइरहेका छन्।
वर्षमा एकपटक हुने यो पर्वमा सहरदेखि गाउँसम्म दही चिउरा खाने चलन छ। यसको पछाडि सामाजिकभन्दा बढी स्वास्थ्य र परिश्रमसँग जोडिएको विश्वास पनि छ—दही चिउरा खानाले खेतमा थकित शरीरलाई ऊर्जा मिल्छ र गर्मीमा शीतलता दिन्छ।
२०६२ सालदेखि औपचारिक रूपमा मनाइँदै आएको राष्ट्रिय धान दिवस को मुख्य उद्देश्य धान खेतीको महत्त्व र कृषकप्रतिको सम्मान प्रकट गर्नु हो। नेपालको झण्डै ६५ प्रतिशत जनसंख्या कृषि पेशामा आश्रित भएको यथार्थलाई ध्यानमा राख्दै, यस दिवसले किसानप्रतिको मूल्याङ्कनको अवसर पनि दिन्छ।
तर, यस वर्षको असार १५ भने वर्षा र मलको अभाव बीच मनाइँदैछ।
कृषि मन्त्रालयले रासायनिक मल पर्याप्त रहेको दाबी गरे पनि, थुप्रै जिल्लाबाट मलको अभाव भएको किसानहरूको गुनासो सार्वजनिक भएको छ।
आजका दिन किसान हिलोमै रमाउँछन्, लाठे–रोपाहार गीत गाउँछन्, तर त्यो हाँसोभित्र पनि चिन्ताको छायाँ लुकेको देखिन्छ।
रोपाइँको सिजनमा मल, पानी र सहुलियतको समयमै सुनिश्चितता नहुँदा, किसानको श्रममा सिधा असर पर्ने जोखिम रहनेछ।