१२ असार, काठमाडौं – नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले निजी विद्यालयहरूको अवमूल्यन गर्नु अनुचित हुने भन्दै, तिनलाई रोक्न सकिने अवस्था नरहेको बताएका छन्। प्रतिनिधिसभाको शिक्षा, सूचना तथा प्रविधि समितिमा बिहीबार बोल्दै सांसद विश्वकर्माले सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै, निजी विद्यालयहरूको पनि विशिष्ट योगदान रहेको स्पष्ट गरे। “आजको शिक्षामा दुई धार छन्—सार्वजनिक र निजी। सार्वजनिकको गुणस्तर बढाउनु आवश्यक छ, तर निजी विद्यालयको मूल्य र भूमिकालाई नकार्न सकिँदैन,” उनले भने, “तिनलाई अहिलेको अवस्थामा रोक्न सम्भव छैन।” सांसद विश्वकर्माले शिक्षा प्रणालीमा निजी लगानीको भूमिकालाई स्वीकार गर्दै, दीर्घकालीन रूपमा सार्वजनिक शिक्षाको मजबूतीले निजी विद्यालयहरू स्वाभाविक रूपमा घट्दै जाने तर्क प्रस्तुत गरे।उनले भने, “यदि सामुदायिक विद्यालयहरू गुणस्तरीय बनाइए भने अभिभावकले निजी रोज्नै पर्दैन। त्यसैले मूल रणनीति सामुदायिकको सुधार हो।” पछिल्लो समय केही दलहरूबाट निजी विद्यालयलाई ‘गुठीमा रूपान्तरण’ गर्नुपर्ने माग उठ्दै आएको सन्दर्भमा सांसद विश्वकर्माले यो विषय प्रेरणाको विषय हुनुपर्ने बताए।“नियमन चाहिन्छ, गुठीकरणतर्फ प्रेरित गर्न सकिन्छ,” उनले थपे, “तर जबरजस्ती होइन, प्रक्रिया र वातावरण तयार गरेर अघि बढ्नुपर्छ।” शिक्षा विधेयक अब समितिको अन्तिम छलफलको चरणमा पुगेको छ। समितिले भोलिसम्म विधेयक पारित गरी प्रतिनिधिसभामा पेश गर्ने तयारी गरिरहेको बताइएको छ।विधेयकले शिक्षाको संघीय संरचना, परीक्षा प्रणाली, निजी क्षेत्रको भूमिका, र स्थानीय तहको जिम्मेवारी जस्ता विषयमा ठोस मार्गचित्र कोर्ने छ।