+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

मखन गल्लि आगलागी घटनामा: उपप्रमुख डंगोलको छानबिन समिति बनाउन निर्देशन

जनवाच
६ घण्टा अगाडी

काठमाडौं, जेठ ४ –३१ वैशाखमा काठमाडौंको मखन टोलमा भएको आगलागी घटनाले स्थानीय संकट व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ। घटनामा एक महिलाको ज्यान गएको र चार घर पूर्णरूपमा क्षतिग्रस्त भएपछि काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले कडा हस्तक्षेप गर्दै १० दिनभित्र तथ्यपूर्ण छानबिन प्रतिवेदन पेश गर्न निर्देशन दिएकी छन्।

डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निर्देश दिँदै, पीडितको क्षतिपूर्तिदेखि लिएर दमकल र आपतकालीन संयन्त्रको कार्यशैलीसम्म सघन अध्ययन गर्नुपर्ने बताएकी हुन्।

उपप्रमुख डंगोलले आगलागी लगत्तै घटनास्थल पुगेर अनुगमन गरेकी थिइन्। दमकल नपुग्ने कारणबारे स्थानीयहरूबाट आएको गुनासो — पानी नहुनु, बाटोमा निर्माण सामग्रीले अवरोध हुनु, आदि —लाई उनले गम्भीर रूपमा लिएकी छिन्।

“दमकल नजिकै हुँदा पनि आगो नियन्त्रणमा ढिलाइ भयो भन्ने गुनासो रह्यो,” उपप्रमुख डंगोलले भनिन्, “त्यसैले छानबिन समितिलाई एम्बुलेन्स, दमकल, स्थानीय प्रतिनिधि सबैको भूमिका समेटेर वस्तुनिष्ठ रिपोर्ट तयार पार्न भनेकी छु।”

दयाराम श्रेष्ठ, रुकेश श्रेष्ठ, कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा क्षति पुगेको छ भने एक महिलाको निधन भइसकेको छ। डंगोलले मानवीय क्षतिको संवेदनशीलता जोड दिँदै भनिन्, “यो केवल संरचनागत क्षति होइन, मानवीय संवेदना र राज्यको जवाफदेहिता जोडिएको मुद्दा हो।”

उनका अनुसार, यो रिपोर्ट केवल मखनका लागि नभई भविष्यमा यस्ता विपद् व्यवस्थापन प्रणाली सुदृढ गर्न मार्गनिर्देशक बन्नेछ।

छानबिन प्रतिवेदनको आधारमा दोषीहरूलाई जवाफदेही बनाउने र भविष्यमा यस्ता घटनाबाट जनधनको क्षति रोक्न आवश्यक संरचनात्मक तथा नीतिगत सुधार गर्ने डंगोलको प्रतिबद्धता छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ