काठमाडौँ -नेवार समुदायभित्र विशिष्ट स्थान राख्ने ‘नायः खिं बाजा’ को ऐतिहासिक, सांस्कृतिक र धार्मिक मूल्य अब दस्तावेजमा पाइने भएको छ। नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौं जिल्ला समितिको आयोजनामा प्रकाशित “नायः खिं बाजा बोल” पुस्तक सार्वजनिक गरिएको छ। क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सांसद विराजभक्त श्रेष्ठ प्रमुख अतिथि थिए। पुस्तक प्रतीक खड्गी द्वारा लिखित तथा उजान नेवा शाही द्वारा बोल सङ्कलन गरिएको हो। पुस्तक काठमाडौँ महानगरपालिकाको सहयोगमा प्रकाशित गरिएको छ। कार्यक्रममा सांसद श्रेष्ठले नायः खिं बाजालाई केवल बाजा नभई धार्मिक अनुशासन, आस्था र जातीय पहिचानको प्रतीकका रूपमा व्याख्या गरे। उनले भने, “नायः खिं बाजा सुनिँदा मात्र पनि त्यो अनुशासन र साधनाको अनुभूति हुन्छ। यसको संरक्षण हाम्रो साझा दायित्व हो।” पुस्तक प्रकाशनको मूल उद्देश्य खड्गी समुदायको अलौकिक सांगीतिक सम्पदा नयाँ पुस्तामा स्थानान्तरण गर्नु रहेको अध्यक्ष सुभाष शाहीले बताए। “सांस्कृतिक उत्तराधिकार हराउँदै जान नदिन यो दस्तावेजीकरण गरिएको हो,” उनले भने। कार्यक्रममा विभिन्न गुठी थकाली, समाजसेवी, संस्कृतिकर्मी र समुदायका अग्रजहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूका अनुसार, पुस्तक विमोचन सांस्कृतिक पुनर्जागरणतर्फको महत्वपूर्ण कदम हो।