काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनबाट सिधा प्रभावित भएका मुलुकहरूको प्रतिनिधित्व गर्दै ‘लस एण्ड ड्यामेज फण्ड’ (हानी–नोक्सानी कोष) का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङलाई जलवायु न्याय सुनिश्चित गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा ओलीले हिमाली राष्ट्रको हैसियतले नेपालले भोगिरहेको जलवायु संकटलाई विशेष ध्यान दिनु पर्ने आवश्यकता औंल्याउँदै भने, “हिमाल पग्लने क्रम तीव्र छ, यो केवल हाम्रो होइन — सम्पूर्ण मानवजातिको भविष्यको चेतावनी हो।” उक्त भेटमा ओलीले सगरमाथा संवादको पहललाई जलवायु चेतनाको अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्ने उद्देश्य रहेको उल्लेख गरे। उनले पेरिस सम्झौताको कार्यान्वयनमा देखिएको विकसित मुलुकहरूको हिच्किचाहटप्रति गहिरो चिन्ता पनि व्यक्त गरे। कार्यकारी निर्देशक डाइओङले जलवायु पीडित राष्ट्रहरूमध्ये नेपालजस्ता मुलुकलाई प्राथमिकतामा राखेर कोषबाट रकम परिचालन गरिने प्रतिबद्धता जनाए। उनले सगरमाथा संवादजस्तो पहलबाट जलवायु मुद्दा अन्तर्राष्ट्रिय विमर्शमा अझ सशक्त रूपमा प्रवेश गरेको बताए। कोप–२७ को निर्णयअनुसार स्थापना भएको लस एण्ड ड्यामेज फण्ड जलवायु विपद्को प्रत्यक्ष मारमा परेका मुलुकहरूलाई राहत दिनका लागि बनाइएको हो। बोर्डमा पेरिस सम्झौताका हस्ताक्षरकर्ता मुलुकबाट २६ सदस्य रहनेछन्।अल्पविकसित राष्ट्रको प्रतिनिधित्व गर्दै वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल कोषको बोर्डमा आमन्त्रित सदस्यको हैसियतले समावेश छन्।