काठमाडौं, २१ वैशाख- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा १० प्रतिशतको वृद्धिको जानकारी गराएको छ। तर, यो नाफाको उकालोसँगै लगानीकर्ताको प्रतिफल (EPS) भने पूँजी विस्तारका कारण केही थिचिएको देखिएको छ। यस अवधिमा कम्पनीले ३६ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ३३ करोड १५ लाख रुपैयाँको तुलनामा ३ करोड ४८ लाख रुपैयाँले बढी हो। मुख्यतः बीमा प्रिमियम आम्दानीमा भएको बृद्धिले कम्पनीको नाफामा योगदान पुर्याएको हो। प्रिमियम आम्दानी यसपटक ३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ११ करोडभन्दा करिब ५० करोड रुपैयाँले बढी हो। तर, यो सकारात्मक प्रगतिसँगै एउटा महत्त्वपूर्ण वित्तीय सूचक– प्रतिसेयर आम्दानी (EPS) भने घटेको छ। बोनस सेयरमार्फत २५ प्रतिशत पूँजी विस्तार गर्दै चुक्ता पूँजी ५ अर्ब पुर्याएपछि EPS मा गिरावट आएको हो। अघिल्लो त्रैमाससम्म ११ रुपैयाँ रहेको EPS हाल घटेर ९ रुपैयाँ ७७ पैसा मात्र बाँकी छ। चालु तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ६७ पैसा रहेको छ। उता, बजारमा कम्पनीको सेयर मूल्य गत साता कारोबार बन्द हुँदा ४५२ रुपैयाँमा कारोबार भएको थियो।