काठमाडौं, १५ वैशाख- नेपालको जलविद्युत् क्षेत्रमा नयाँ गति ल्याउने लक्ष्यसहित अगाडि बढेको देव ऊर्जा कन्स्ट्रक्सन लिमिटेडले माथिल्लो ठूलो खोला जलविद्युत् आयोजना (२२.५ मेगावाट) को सिभिल र हाइड्रो मेकानिकल कार्य तोकिएको समयभन्दा अघि नै सम्पन्न गरेको छ। कठिन भौगोलिक चुनौतीबीच पनि समयमै काम सकेर इलेक्ट्रोमेकानिकल टोलीलाई हस्तान्तरण गरिएको छ।
२०७९ फागुन १५ गते औपचारिक भूमिपूजनसँगै निर्माण थालिएको यो आयोजनामा वर्षात, हिउँ र पहिरोका अवरोधका बाबजुद, सशक्त योजना र समर्पित मेहनतले सफलता हासिल गरिएको हो। देव ग्रुप अफ कम्पनी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) नविन सिलवालका अनुसार, “मालाङ क्षेत्रमा आवधिक पहिरो र प्रतिकूल मौसमले काम अवरुद्ध हुँदा पनि दृढ इच्छाशक्ति र सतत प्रयासले निर्धारित समयभन्दा अगाडि सिभिल तथा हाइड्रो मेकानिकल कार्य सम्पन्न गर्न सफल भएका हौं।”
आयोजनाको इलेक्ट्रोमेकानिकल कार्य अहिले भारतको बीएफएल (BFL) कम्पनीले गरिरहेको छ। यद्यपि, सिभिल र हाइड्रो मेकानिकल कार्य सम्पन्न भइसकेकाले आयोजना निर्धारित समयभन्दा अघि नै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको देव ऊर्जा कन्स्ट्रक्सनका वित्तीय प्रमुख प्रदीप खतिवडाले जानकारी दिए।
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–८ मा निर्माणाधीन आयोजनाको लागत अनुमानित ३ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। जसमा ७५ प्रतिशत बैंक ऋण र २५ प्रतिशत स्वपुँजी रहेको छ। सिटिजन्स बैंकको नेतृत्वमा कृषि विकास बैंक र माछापुच्छ्रे बैंकले आयोजना निर्माणमा लगानी गरेका छन्।
२०८२ असोज २८ गतेभित्र आयोजना पूरा गर्ने लक्ष्य राखिए तापनि अपेक्षित मितिभन्दा अगावै आयोजनाले निर्माण कार्य पूरा गर्ने संकेत देखाएको छ। माथिल्लो ठूलो खोला जलविद्युत् आयोजना सञ्चालनमा आएपछि नेपालका लागि विद्युत उत्पादन र आपूर्ति सुदृढ गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।