काठमाडौं, १० वैशाख – जम्मू कश्मीरको शान्ति र रमणीयता मंगलबार एकै क्षणमा चिथोरिएको छ — आतंकवादले फेरि निर्दोषको रगत बगाएको छ। पहलगामको पर्यटकीय क्षेत्रमा आतंककारी आक्रमणमा परेर तीन विदेशीसहित २७ जनाको ज्यान गएको छ भने २० भन्दा बढी घाइते छन्। ती मध्ये एक नेपाली नागरिक सुदीप न्यौपानेको पनि दुःखद निधन भएको पुष्टि भएको छ। रुपन्देहीको बुटवल–११, कालिकानगरका २२ वर्षीय न्यौपाने आमा र बहिनीका साथ काश्मिर भ्रमणमा गएका थिए। एक रमाइलो पारिवारिक यात्राले यस्तो रक्तपातपूर्ण मोड लिने कुनैले कल्पनासमेत गरेका थिएनन्। भारतीय मिडियाले आक्रमणको जिम्मेवारी ‘द रेजिस्टेन्स फ्रन्ट’ नामक समूहले लिएको जनाएका छन्, जुन लश्कर-ए-तैयबाको सहायक संगठन मानिन्छ। घटना लगत्तै भारत सरकारले उच्चस्तरीय सुरक्षा सतर्कता जारी गर्दै आक्रमणकारीको तस्विर सार्वजनिक गरिसकेको छ, यद्यपि नाम खुलाइएको छैन। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो साउदी अरब भ्रमण छोट्याएर स्वदेश फर्के भने गृहमन्त्री अमित शाहले घटनास्थल पुगेर निरीक्षण गरेका छन्। मोदी आजै कश्मीर पुग्ने सम्भावना रहेको छ।