काठमाडौँ, १० वैशाख – सरकारको पूँजीगत खर्चमा सुस्तता देखिएको बेला उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्पष्ट शब्दमा बजेट खर्च गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको भएको भन्दै ‘अर्थ मन्त्रालयलाई मात्र दोष दिने प्रवृत्ति’ को अन्त्य गर्नुपर्ने सन्देश दिएका छन् । अर्थ मन्त्रालयमा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले भन्नुभयो, “अहिलेसम्म पूँजीगत खर्च नगर्दा अर्थ मन्त्रालयलाई दोष दिइएको छ, तर स्रोतको व्यवस्थापन र सहजीकरण हाम्रो काम हो, खर्च गर्ने जिम्मेवारी त तपाईंहरूको हो।” मन्त्री पौडेलले कर्मचारीहरूलाई बेरुजु फर्स्यौट, वैदेशिक लगानीमा सहजता, पूँजी परिचालन र प्रविधिको प्रयोगमा सक्रियता देखाउन निर्देशन दिए । सेवा प्रवाह सुधारमा समेत उहाँले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर नीलम ढुंगानाले आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख भएको जनाउँदै वित्तीय स्थायित्वलाई थप मजबुत बनाउने खाँचो औंल्याउनुभयो। त्यस्तै, अर्थ सचिव घनश्याम उपाध्यायले नियमन र कार्यान्वयनमा कठोरता ल्याउनुपर्ने धारणा राख्नुभयो भने राजस्व सचिव दिनेशकुमार घिमिरेले आन्तरिक सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। बैठकमा अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कार्यतालिका अनुसार बजेट निर्माण प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए ।