काठमाडौं, वैशाख ४ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि एकपटक लागूऔषध तस्करीको प्रयास फेल भएको छ। श्रीलंका फर्किन तयारी अवस्थामा रहेका एक ६१ वर्षीय श्रीलंकन नागरिक मोहम्मद सलिमलाई करिब ५ किलो २ सय ग्राम गाँजा जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो। श्रीलंकन एयरलाइन्सको उडानमार्फत देश फर्किन लागेका सलिमको साथबाट उक्त पदार्थ डिपार्चर होल्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा फेला परेको हो। प्रारम्भिक जाँचमा पदार्थ गाँजा हुन सक्ने अनुमान गरिएको छ, जसको थप परीक्षण भइरहेको छ। पछिल्ला घटनाक्रमले नेपाल लागूऔषध तस्करीको ट्रान्जिट बन्दै गएको शंका बढाएको छ। विदेशी नागरिकहरूमार्फत गाँजा वा अन्य लागूऔषध बोकाएर तस्करी गर्ने प्रवृत्ति नियन्त्रणका लागि सुरक्षा संयन्त्र अझ चुस्त र प्रभावकारी बनाउनु पर्ने आवाज बलियो बन्दै गएको छ। पक्राउ परेका श्रीलंकन नागरिकलाई हाल लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा राखी थप अनुसन्धान गरिँदैछ।