काठमाडौँ — नेपालको प्रहरी सेवामा लामो समयदेखि योगदान दिँदै आएका ६ जना डीआईजी (डिपुटी इन्स्पेक्टर जनरल) हरूलाई एआईजी (अतिरिक्त महानिरीक्षक) मा बढुवा गर्न सिफारिस गरिएको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले वरिष्ठता, कार्यसम्पादन र योगदानलाई आधार मान्दै उक्त निर्णय गरेको हो। सिफारिसमा परेका अधिकारीहरूमा चन्द्र कुवेर, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी रहेका छन्। यीमध्ये डा. केसी हालै चर्चामा आएको भुटानी शरणार्थी घोटाला प्रकरणमा अनुसन्धान अघि बढाउने साहसिक भूमिकाका कारण चर्चामा आएका थिए। सार्वजनिक चासोको विषय बनेको उक्त फाइल पुनः सक्रिय बनाउँदै उनले प्रहरी प्रशासनमा सक्रियता देखाएका थिए, जसले सम्भवतः बढुवामा थप सकारात्मक प्रभाव पारेको अनुमान गरिएको छ। डा. केसीसहित दान बहादुर कार्की र राजन अधिकारीले २०५४ साल चैत १८ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। झण्डै तीन दशकको सेवाकालमा उनीहरूले विभिन्न जिम्मेवारी सम्हाल्दै अनुभव र नेतृत्व क्षमता देखाएका छन्।