काठमाडौँ, चैत २१ – नेपाल र भारतबीचको सैन्य सहयोग अब केवल रणनीतिक वा तालिममै सीमित छैन, अब यो हिमाल चढ्ने उचाइसम्म पुगेको छ। दुवै देशका सेनाले संयुक्त रूपमा विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा आरोहण गर्ने तयारी थालेका छन्, जसले दुवै मुलुकबीचको आपसी समझदारी र विश्वासलाई अझ मजबुत बनाउने छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले बिहीबार विशेष समारोहबीच नेपाल–भारत संयुक्त टोलीलाई झण्डा देखाएर आरोहणका लागि बिदाई गरे। यो क्षणमा नेपाली सेनाको तर्फबाट सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी ध्रुव प्रकाश शाह पनि उपस्थित थिए। यो साहसिक अभियानले सैन्य सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ। जहाँ पहिल्यै देखि साझा तालिम, विपद् व्यवस्थापन र सुरक्षाका विभिन्न क्षेत्रमा सहयोग हुँदै आएको छ, अब प्राकृतिक चुनौतीको सामना गर्दै सँगै सर्वोच्च हिमाल चढ्ने इतिहास कायम हुँदैछ। कञ्चनजंघा (८,५८६ मिटर) हिमाल केवल भौगोलिक उचाइमा मात्रै होइन, दुई मुलुकको आपसी सम्बन्धको उचाइ मापन गर्ने ‘पाइला’ बन्ने संकेत देखिएको छ।