बेइजिङ, १५ चैत – चीनले ताइवान स्वतन्त्रता समर्थकहरूमाथि कडा निगरानी गर्दै विशेष सूची तयार पारेको छ। हालसम्म ३२३ जनाको नाम उक्त सूचीमा समावेश भइसकेको छ, जसलाई चीनले ‘राष्ट्रिय सुरक्षा विरोधी तत्व’को रूपमा चिन्हित गरेको छ। चीनको स्टेट काउन्सिलअन्तर्गतको ताइवान मामिला कार्यालय का प्रवक्ता चेन बिन्हुआ का अनुसार, ताइवानको स्वतन्त्रताको वकालत गर्ने राजनीतिक व्यक्ति, संगठनका प्रमुख तथा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरू सूचीमा परेका छन्। चीनले यी व्यक्तिहरूमाथि गम्भीर अनुसन्धान गर्ने तयारी गरिरहेको छ। चीनले हालै ‘विशेष सूचना संकलन अभियान’ सञ्चालन गर्दै ताइवान स्वतन्त्रताका समर्थकहरूको विवरण संकलन गर्न एक गोप्य इमेल आइडी सार्वजनिक गरेको थियो। चीन सरकारलाई ‘राष्ट्रविरोधी गतिविधि’ गर्नेहरूको पहिचान गर्न सहयोग गर्न उक्त इमेलमार्फत जानकारी दिन आह्वान गरिएको थियो। चीनमा देशद्रोहको सजाय मृत्युदण्ड हुन सक्ने कानूनी प्रावधान रहेको छ। अधिकारीहरूका अनुसार, यदि सूचीमा रहेका व्यक्तिहरू दोषी प्रमाणित भए, तिनीहरूलाई मृत्युदण्ड वा कडा सजाय दिइनेछ। प्रवक्ता बिन्हुआका अनुसार, केही व्यक्तिहरूले चीन विरोधी गतिविधिहरूमा संलग्न भई ताइवानका नागरिकहरूलाई उत्तेजित गर्ने, चीनमै बसोबास गर्ने ताइवानी नागरिकहरूको अधिकार हनन गर्ने, तथा सरकारविरोधी अभियानमा विदेशी शक्तिसँग मिलेर काम गर्ने प्रमाणहरू फेला परेको छ। ताइवानलाई आफ्नो छुट्टै राष्ट्र मान्नेहरूका लागि यो पछिल्लो घटनाले थप चुनौती खडा गरेको छ। चीनले ताइवानलाई आफ्नो अविभाज्य अंग मान्दै आएको छ, तर ताइवानको सरकार स्वतन्त्र अस्तित्वको दाबी गर्छ। हालै, अमेरिकाले ताइवानलाई रक्षा सहायता प्रदान गरेपछि चीन झन् आक्रामक बनेको देखिन्छ।