काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतपरिणामको अन्तिम नतिजा अनुसार भट्टराईले ७६१ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेत्र चापाईंले जम्मा ७३ मत मात्र पाए ।
आइतबारदेखि प्रज्ञा भवनमा नयाँ शक्तिको महाधिवेशन सुरु भएर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।
पार्टीको ९९ सदस्यीय केन्द्रीय समितिमा २२ जना निर्विरोध निर्वाचित भएका छन् । बाँकी पदमा भएको निर्वाचनको पनि अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ ।
यस्तै पार्टीको दलित उपाध्यक्षमा दुर्गा सोव, महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई, कोषाध्यक्षमा हरि रिजाल लगायत २२ जना निर्विरोध निर्वाचित भएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष लगायत पदहरुमा प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा मतदानको प्रक्रिया सञ्चालन गरिएको नेसपाको भनाइ छ । केन्द्रीय समितिमा उपाध्यक्षहरु, सचिवहरु र केन्द्रीय सदस्यहरु नेपालको संविधान र पार्टीको विधानले व्यवस्था गरे बमोजिम जातीय संरचना महिला, युवा, खसआर्य, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी, अल्पसंख्यक समुदायको समुचित प्रतिनिधित्व सहित उम्मेदवारीको कोटा निश्चित गरी मतदान भएको थियो ।निर्वाचन मार्फत केन्द्रीय समितिमा युवाहरूको कम्तीमा २० प्रतिशत प्रतिनिधित्व हुने गरी मतपत्रमा सुनिश्चित गरिएको थियो ।
यस्तै देश बाहिर रहेका प्रवासी नेपालीहरूलाई विद्युतीय प्रणालीको माध्यमबाट मतदान गर्ने व्यवस्था गरिएको थियो ।