काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनामा ४३ वटा पूर्वाधार निर्माण सम्बन्धी योजना सम्पन्न गरेको छ । यसबाट ३७.३० किलोमिटर सडक कालोपत्रे भएको महानगरपालिकाले जनाएको छ । नियमित सडक मर्मत कार्यक्रमअन्तर्गत ८.४० किलोमिटर, पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत १०.२० किलोमिटर, धुलोरहित सडक कार्यक्रमअन्तर्गत ९.४० किलोमिटर र क्रमागत कार्यक्रमबाट ९.३० किलोमिटर सडक निर्माण गरिएको महानगरले जनाएको हो ।
महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा काठमाडौं प्लाजामा शुक्रबार बसेको बजेट तर्जुमा समितिको बैठकमा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले अहिलेको प्रगतिका विषयमा जानकारी गराएका हुन् । सडक कालोपत्रे कार्यसँगै ५.८० किलोमिटर सडक ढलान गरिएको छ । १.१६ किलोमिटर ढल राख्ने, ६.४७ किलोमिटर सडकमा ब्लक छाप्ने र २ हजार ७० वर्गकिलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न भएको जनाइएको छ । यस अवधिमा करिब ८८ करोड रुपैयाँको काम सम्पन्न भएको र ५० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको विभागले जनाएको छ ।
समितिको बैठकमा ६ वटा विभागका प्रमुखहरुले विषयगत समितिका संयोजकहरुको रोहबरमा अहिलेसम्मको प्रगति पेश गर्दै चालु आर्थिक वर्षको बाँकी समयमा कार्यान्वयनमा लैजान नसकिने कार्यक्रम र यसको सट्टा सञ्चालन गर्न सकिने प्रस्तावित कार्यक्रमका बारेमा प्रस्तुतिकरण दिएका छन् ।
छलफलमा उपप्रमुख डंगोलले नतिजा बढाउन विभागले तर्जुमा गरेका आन्तरिक योजनाका विषयमा जानकारी मागेकी थिइन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, विषयगत समितिका संयोजकहरुबाट प्राप्त भएका नीतिगत र कार्यक्रम सम्बन्धी सुझावलाई कार्यान्वयनमा लैजाने बताए ।