काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैंक अनुबन्धन भएको छ । २०२४ देखि २०२९ सम्म ५ वर्षको मुख्य प्रायोजकको रुपमा मुख्य प्रायोजकको रुपमा क्यान र बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
कार्तिक ३० गते क्यानका पदाधिकारीज्यूहरु, बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाज्यू, संचालक समितिका सदस्यज्यूहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कडेलज्यू, व्यवस्थापन समूह, बैंकको भगिनी संस्थाका अध्यक्षज्यूहरु र प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको थियो ।
सिद्धार्थ बैंकद्धारा प्रायोजित नेपाल प्रिमियर लिगको प्रथम संस्करणको खेल हिजो शनिबारदेखि काठमाडौंमा शुरु भएको छ । पहिलो खेलमा जनकपुर बोल्टस्ले विराटनगर किंग्सलाई ८ विकेटले हराएको छ ।
नेपालको क्रिकेट जगतलाई थप उचाइमा पुर्याउने उद्देश्यका साथ सिद्धार्थ बैंक यस लिगसँग जोडिएको धारणा बैंकका अध्यक्ष मनोज कुमार केडियाले बताएका छन् । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृतले यस समन्वयले नेपालमा क्रिकेटको स्तर नयाँ उचाइमा पुर्याइ देशको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउन मद्दत पुग्ने धारणा व्यक्त गरेका छन् ।
पछिल्ला दिनहरूमा क्रिकेट खेलले सबै उमेर समूहका मानिसहरूमा अत्यधिक लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकोले पनि बैंक नेपाल प्रिमियर लिगको ५ वर्षको लागि मुख्य प्रायोजकको रुपमा जोडिएको हो । यस समन्वयले नेपालको क्रिकेट विकासमा योगदान गर्दै खेलाडीहरूमा प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्न मद्दत पुर्याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।