काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक (नेपालगन्ज, बाँके) लाई कारबाही गरेको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले कर्णाली डेभलपमेन्ट बैंकलाई थप निक्षेप लिन तथा कर्जा प्रवाहमा रोक लगाई कारबाही गरेको हो ।
‘संस्थाको कर्जा नोक्सानी व्यवस्थामा सुपरीवेक्षकीय समायोजन गर्दा बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुनेलगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।
यसरी समस्याउन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्न राष्ट्र बैंकले सुधारात्मक कारबाही गरेको जनाएको छ ।
आजदेखि ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले वित्तीय परिसूचकमा सुधार गर्ने शर्तसहित निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाइएको हो ।