काठमाडौं । आइतबारदेखि सर्वसाधारणका लागि धरहरा सःशुल्क खुला भएको छ । २०७२ सालको भूकम्पपछि पुनःनिर्माण भएको काठमाडौंको सुनधारा स्थिति धरहरा अर्थात् भिमसेन स्तम्भ केही समय सर्वसाधारणका लागि निःशुल्क खुला गरिएपनि २०८१ मंसिर ९ गतेदेखि भने सःशुल्क खुला गरिएको हो ।
अब जो कोही सर्वसधारणले तोकिएको शुल्क तिरेर धरहरा चढ्न र काठमाडौंको दृश्यावलोकन गर्न पाउँछ । सरकारले धरहरा चढ्नका लागि न्यूनतम २०० रुपियाँ शुल्क तोकेको छ ।
नेपाली सर्वसाधारणलाई प्रतिव्यक्ति रु २०० तोकिएको छ भने सार्क राष्ट्रका नागरिक (पर्यटक) लाई प्रतिव्यक्ति रु ५०० र अन्य देशका नागरिकलाई रु १००० शुल्क तोकिएको छ ।
तथापि, विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले भने तोकिएको शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।
विशेष प्राथमिकतामा परेका विद्यर्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुले रु १०० मा नै धरहरा चढ्न पाउनेछन् । यसअघि(९२०७२ अघि) यस्तो शुल्क रु ४९ मात्र रहेको थियो ।
औपचारिक रुपमानै धरहरा सःशुल्क खुला भएसँगै सर्वसाधारणको भिड लागेको छ । आइतबारदेखि खुल्ने भएपछि धरहरा चढ्न सर्वधारण विहानैदेखि लाइन लागेका छन् । पुनःनिर्माणपछि परीक्षण कालमा सरकारले संविधान दिवस (असोज ३ गतेदेखि) धरहरा निःशुल्क खुला गरेको थियो । तर गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको थियो ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सरकारले धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको हो ।