+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

ओभरलोड ट्रकलाई नियन्त्रण गर्न : गृह मन्त्री लेखकको कडा निर्देशन

जनवाच
११ घण्टा अगाडी

काठमाडौं – सडकमा ओभरलोड ट्रकको आतंक नियन्त्रण गर्न गृह मन्त्री रमेश लेखकले स्पष्ट सन्देश दिएका छन्अबदेखि न त छिमेकी मुलुकबाट आउने ओभरलोड ट्रक छिर्न पाउनेछ, न देशभित्रका सवारीले भार सीमा उल्लंघन गर्न पाउनेछन्।

बुधबार गृह मन्त्रालयमा सम्पन्न ‘सडक क्षेत्रमा सम्भावित विपद् र पूर्वतयारी’ विषयक उच्चस्तरीय बैठकमा मन्त्री लेखकले तौलपुल प्रणालीलाई सक्रिय बनाउँदै ओभरलोड सवारी साधनलाई सडकमै प्रवेश नदिने आदेश दिएका हुन्।

गृह सचिव गोकर्णमणि दुवाडी, यातायात सचिव केशव शर्मा, प्रहरी प्रमुखदेखि सशस्त्र प्रहरी प्रमुखसम्म उपस्थित बैठकमा मन्त्री लेखकले वर्षाको मौसममा बाढी, पहिरो र जोखिमयुक्त सडक क्षेत्रमा सवारी आवागमन नियन्त्रण गर्नुपर्ने बताए। ‘यदि सूचना दिइसकेपछि पनि जोखिमपूर्ण क्षेत्रमा सवारी चलाइयो भने सम्बन्धित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रमुख कारबाहीको भागीदार हुनेछन्, उनले चेतावनी दिए।

पछिल्लो समय प्राकृतिक प्रकोपका बेला ज्यान बचाउन जीवन जोखिममा पार्ने चालकलाई सरकारले प्रोत्साहन गर्दै आएको मन्त्री लेखकले स्मरण गराए। गत वर्ष यात्रुहरूको ज्यान बचाउन गम्भीर दुर्घटनाबाट बचाउने क्रममा ज्यान गुमाएका चालक मेघनाथ बिकलाई सरकारले सम्मान गरेको प्रसंग कोट्याउँदै उनले भने, ‘बहादुरी र दुस्साहसको सिमा छुट्याइनुपर्छ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बैठकमा प्रस्तुत गरेको १७ बुँदे आचारसंहितामा ओभरलोड नगर्ने, मादक पदार्थको सेवन नगर्ने, यात्रुहरूको विवरण अद्यावधिक राख्ने, महिला र बालबालिकालाई सुरक्षित यात्रा गराउने, जोखिमपूर्ण सडकमा गाडी नचाल्ने लगायतका उल्लेखनीय प्रतिबद्धताहरू समावेश छन्।

सवारीमा प्राथमिक उपचार सामग्री अनिवार्य राख्ने, यातायात मजदुरले परिचयपत्र अनिवार्य रूपमा लगाउने, यात्रु माग अनुसार भाडा फिर्ता गर्ने जस्ता व्यवहारिक तथा यात्रुमैत्री अभ्यासलाई संस्थागत गर्ने संहिता तयार पारिएको छ।

गृह मन्त्री लेखकले प्रस्तुत आचारसंहितालाई निकै सराहना गर्दै अब त्यसलाई कागजमा सीमित नराखी, अविलम्ब कार्यान्वयन गर्न आग्रह गरे। उनले भने, यी बुँदाहरू कागजमा मात्र होइन, यात्रुको अनुभूति र सुरक्षामा परिणत हुनुपर्छ। हामी सबै यो साझा प्रयासमा सहभागी बन्नुपर्छ।

बैठकमा यातायात क्षेत्रका प्रमुख संघसंस्थाका प्रतिनिधिहरू, ट्राफिक प्रहरी प्रमुख, जल तथा मौसम विज्ञान विभाग, सडक विभाग, गृह मन्त्रालयका उच्च अधिकारी लगायत सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ