काठमाडौं, जेठ २५ –कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडानको प्रगति हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वयं मैदानमा पुगे। उनले निर्माण कार्यलाई समयमै सम्पन्न गर्न फेरि निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले असार ३१ मा कार्यभार सम्हालेपछि सर्वप्रथम घोषणा गरेका योजनामध्ये यही रंगशाला शीर्ष प्राथमिकतामा परेको हो। उनले ३०० दिनभित्र निर्माण सक्ने प्रतिबद्धतासहित मैदानमा प्यारापेट र आधुनिक फ्लडलाइट जडान गरिने बताएका थिए। यसअघि वैशाख २२ मा सिंहदरबारमा सम्बन्धित अधिकारी र निर्माण कम्पनीहरूलाई डाकेर दुई महिनाभित्र काम सक्न निर्देशन दिइसकेका ओलीले स्थलमै पुगेर प्रत्यक्ष निरीक्षण गर्नु प्रधानमन्त्रीको व्यक्तिगत चासोलाई देखाउँछ। उक्त निरीक्षणमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठसहित निर्माण व्यवसायीहरू सहभागी थिए। प्यारापेट र फ्लडलाइटका लागि छुट्टाछुट्टै ठेकेदार कम्पनीहरूसँग पुस १९ र २२ गते सम्झौता गरिएको हो। तर, लक्ष्यअनुसार प्रगति नभएको भन्दै प्रधानमन्त्रीले दोहोर्याएर निर्देशन दिनुपरेको देखिन्छ।