काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि लागेको मुद्दालाई सत्ताको नियोजित रणनीति भन्दै तीव्र आलोचना गरेकी छन्। उनले लामिछानेलाई जनताले देशको समृद्धिको संवाहक नेताका रूपमा विश्वास गरिरहेको स्पष्ट पारिन्। शनिबार सुनसरीको बराहक्षेत्रमा आयोजित वृहत खुला भेलामा हजारौंको उपस्थितिबीच सम्बोधन गर्दै सांसद गौतमले रवि लामिछानेमाथिको मुद्दा केवल कानुनी प्रक्रिया नभई, सत्ता–स्वार्थ मिसिएको प्रपञ्च जस्तो देखिएको टिप्पणी गरिन्। गौतमले भनिन्, “रवि लामिछानेमाथिको मुद्दा कानुनले हेर्ला, तर जनताको अदालतले उहाँलाई देशको समृद्धि र परिवर्तनको मार्गदर्शकका रूपमा हेरिरहेको छ।उनले मुद्दामा सत्ताको हस्तक्षेपको संकेत गर्दै आरोप लगाइन्, सत्ताको पनि कता-कता प्रभावको गन्ध आएको छ। सभापति लामिछानेलाई बदनाम गराउन राजनीतिक षड्यन्त्र भइरहेको दाबी गर्दै गौतमले भनिन्,“एउटा रवि लामिछानेको मुख थुन्न खोजिए पनि लाखौं रवि उठिसकेका छन्। रविलाई खाल्डोमा हाल्न खनेको खाल्डोमा आफैं पर्नेछन् षड्यन्त्रकारीहरू।” सांसद गौतमले भिजिट भिसा प्रकरणमा ठगिएका नागरिकहरूबाट ३–४ हजारभन्दा बढी प्रमाण संकलन भएको जानकारी दिँदै भनिन्, हामी प्रमाण संकलन गरिरहेका छौं। देशभरि कति नागरिक ठगिए भनेर प्रमाणित गर्न हामीसँग ठोस आधार छ। हामीले जे गर्न सकिन्छ, गर्छौं।