+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०८२: विदेशी सहभागिता र ‘मेड इन नेपाल’ ब्रान्डको नयाँ प्रदर्शन

जनवाच
४ दिन अगाडी

काठमाडौं, २ वैशाख – नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०८२ मा यसपटक चीन, भारत, पाकिस्तान र बङ्गलादेशका व्यवसायीहरूले स्टल बुकिङ गरी विदेशीसम्म पुग्ने ‘मेड इन नेपाल’ ब्रान्डलाई थप उचाइ दिने संकेत देखिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मेलामा ३०० भन्दा बढी स्वदेशी तथा विदेशी स्टल समावेश हुनेछन्।

मेलाका लागि हालसम्म चीन, भारत, पाकिस्तान र बङ्गलादेशबाट स्टल बुकिङ भइसकेको छ भने कोरिया, जापान लगायत सार्क राष्ट्रका खरिदकर्तालाई पनि आमन्त्रण गरिएको छ। यसले नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा प्रबद्र्धन गर्ने रणनीतिलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

मेलाको मुख्य आकर्षण ‘मेड इन नेपाल’ पेभेलियन, हस्तकला उत्पादन, वस्तुगत संघका स्टल तथा दुई र चार पांग्रे विद्युतीय गाडी (EV) हुने महासंघले जनाएको छ।

कुल ३०० भन्दा बढी स्टलमा कृषिजन्य उत्पादन, सूचना तथा प्रविधि, ऊर्जा, पर्यटन, निर्माण र व्यवसायिक सेवासम्बन्धी प्रदर्शनी रहनेछ।

मेला अवसरमा अन्तराष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया, द्विपक्षीय व्यापार प्रवद्र्धन र लगानी छलफल आयोजना गरिने छ। यसले नेपाली उत्पादक र अन्तराष्ट्रिय बजारबीचको दूरी घटाउने विश्वास आयोजकको छ।

देशका विभिन्न जिल्लामा आयोजित व्यापार मेलामा उत्कृष्ट ठहरिएका स्टल तथा उत्पादनलाई नि:शुल्क सहभागिता दिने प्रबन्ध गरिएको छ। यसबाट स्थानीय उद्यमलाई राष्ट्रिय मञ्चमा उभ्याउने लक्ष्य राखिएको छ।

मेलामा जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेश दिइनेछ भने विद्यार्थीहरूलाई ५०% छुट दिइने महासंघले जानकारी दिएको छ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको दशक लामो यात्रा अब नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउने अभियानमा परिणत हुँदैछ।

महासंघको विश्वास छ— नियमित मेलाले अन्तराष्ट्रिय लगानी, प्रविधि र व्यापार प्रवद्र्धनमा दीर्घकालीन योगदान पुर्‍याउनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ