२६ चैत, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशासनको आग्रहमा भृकुटीमण्डपको सभा बल्खुमा सार्नु कमजोरी नभई सहनशीलताको परिचायक भएको बताएका छन्। मंगलबार बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले शान्तिपूर्ण आन्दोलनप्रतिको प्रतिबद्धता दोहोर्याए। “हामी अहिंसा र शान्तिमा विश्वास गर्छौं,” उनले भने, “तर हाम्रो सहिष्णुता कमजोर भएको हो भन्ने भ्रममा नपर्नुहोस्। राप्रपा कहिल्यै पछि हट्दैन, जबसुकै जहाँसुकै उभिन सक्छ।” लिङ्देनले सरकारको तर्फबाट राप्रपालाई भृकुटीमण्डपमा सभा गर्न नदिएको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाए। उनले ‘गणतन्त्र ढल्ने डर’ का नाममा राजनीतिक दलमाथि अंकुश लगाइनु आफैंमा गणतन्त्रको कमजोरी भएको तर्क गरे। “एक यस्तो पार्टी जसले खुलेर राजतन्त्र र हिन्दू राष्ट्रको एजेन्डा बोकेको छ, उसलाई सभा गर्न दिँदा गणतन्त्र ढल्छ भने त्यो गणतन्त्र कति लाचार हो भनेर आज संसारले देखेको छ,” लिङ्देनले टिप्पणी गरे। “बल्खु आउ भनेपछि आयौं, भोलि कलंकी आउ भने पनि आउँछौं,” भन्दै लिङ्देनले स्थानको फरकले आन्दोलनको प्रभाव नघट्ने स्पष्ट संकेत दिए। “हाम्रो उद्देश्य भिडन्त होइन, जनतालाई सन्देश दिनु हो,” उनले भने। सभामा लिङ्देनले प्रश्न उठाए, “हामीले चारतिरबाट सभा गर्दा के गर्थ्यौ? कसलाई गोली चलाउँथ्यौ? आन्दोलनलाई नियन्त्रण गर्न प्रशासनले देखाएको सुरक्षा चुनौतीको बहानाले राजनीतिक स्वतन्त्रता कुण्ठित गर्न खोजिएको आरोप समेत लगाए।”