काठमाडौं, चैत २७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेता ज्ञानेन्द्र शाहीले माओवादी जनयुद्धका नाममा भएको भौतिक र आर्थिक क्षतिको मूल्य माओवादी नेतृत्त्वबाट असुल्नुपर्ने स्पष्ट माग गरेका छन्।
राप्रपाद्वारा आयोजित खबरदारी सभामा बोल्दै शाहीले दश वर्षे सशस्त्र द्वन्द्वको नाममा देशले व्यहोरेको १५ खर्ब रुपैयाँ बराबरको क्षतिको जिम्मा लिने को भन्ने प्रश्न उठाए।
“जनताको पीडा र राष्ट्रको बर्बादीको मूल्य किन जनताले तिर्नुपर्छ?,” शाहीले प्रश्न गर्दै थपे, “प्रचण्डले आफ्ना परिवारका सबै सदस्यलाई पद बाँडे, तर जनताले पीडा, विस्थापन र बेरोजगारी पाए।”
शाहीका अनुसार, सशस्त्र द्वन्द्वको समयमा माओवादीले १ खर्ब ३० अर्ब बराबरको संरचनात्मक क्षति पुर्याए, जुन आजको मूल्यमा ५ खर्ब रुपैयाँ बराबर हुन्छ। उनले भने, “यो रकम ब्याजसहित प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्छ।”
शाहीले आरोप लगाए कि परिवर्तनको नाममा माओवादी नेतृत्त्वले सत्ता र पदको खेती मात्र गरे। “छोरी मेयर, बुहारी मन्त्री, भाइ, ज्वाइँ, नाति–सबैलाई पद बाँड्दै हिँड्ने नेताहरूले देश बनाउने होइन, बाँड्ने नीति लिए,” उनले तिखो प्रहार गरे।
शाहीले युद्धकालमा ११ सय ठूला साना उद्योग बन्द भएको, एक लाखभन्दा बढी घरेलु उद्योग सखाप पारिएको र ६ लाखभन्दा बढी नेपालीलाई बेरोजगार बनाएर विदेश पठाइएको आरोपसमेत लगाए।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संसदमा प्रस्तुत तथ्यांकको पनि शाहीले कडा आलोचना गरे। “२०४४ सालमा नेपालको प्रतिव्यक्ति आय १४६ डलर थियो, चीनको २८४ डलर,” भन्दै उनले वर्तमान तुलनात्मक डाटा प्रस्तुत गरे – “आज चीन २४,३६० डलरमा पुग्दा नेपाल १,४५६ डलरमै सीमित छ।”