जनकपुर, चैत २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनलाई राजनीतिक अस्त्र बनाउने होडबाजी होइन, आवश्यक सुधारको सन्तुलित प्रक्रिया बनाउने संकेत दिएका छन्। मधेस प्रदेशसभामा सम्बोधन गर्दै उनले सामाजिक सद्भाव, राष्ट्रिय एकता र कार्यान्वयनको अनुभवका आधारमा संविधान सशक्त बनाउन समिति गठन गर्ने जानकारी दिए। प्रधानमन्त्री ओलीले स्पष्ट पारे, “संविधानलाई खोलेर हावा चलाउने वा अनावश्यक विषय उठाएर राष्ट्रलाई अस्थिरतातर्फ लैजाने प्रयास हुँदैन। हामी संविधान संशोधनलाई सुधारको औजार बनाउने हो, द्वार खोलेर अनिश्चिततामा देश धकेल्ने होइन।” उनको भनाइमा, एमाले र काँग्रेसको संयुक्त सरकार संविधान संशोधनका लागि एक राजनीतिक समिति गठन गर्नेछ, जसले समय, सन्दर्भ र देशको आवश्यकता अनुसार विषयवस्तुमा काम गर्नेछ। तर उनले चेतावनी दिए– “प्याण्डोराको बाकस खोलेजस्तो संविधान संशोधन गर्ने हो भने त्यसले समस्याको सृजना मात्र गर्छ।” ओलीले नयाँ पुस्तालाई निरङ्कुश राजतन्त्रको मोहमा नपर्न आग्रह गरे। “राजतन्त्र फर्काउने सपना देख्नेहरू छन्, तर यो युग गणतन्त्रको हो,” उनले भने, “गणतन्त्र केवल व्यवस्था होइन, जनताको अधिकारको ग्यारेन्टी हो। यो वर्तमान पनि हो र भविष्य पनि।”