काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादा र लोकतान्त्रिक प्रक्रियाप्रति प्रश्न उठाउने प्रवृत्तिको तीव्र आलोचना गर्दै, संविधानको नाममा शपथ लिएर त्यही संविधान अस्वीकार गर्नु “इमानदारिताको खडेरी” भएको टिप्पणी गरेका छन्। फोरियन अफेयर्स मिडियाद्वारा आयोजित ‘हिमालयन डायलग’ शृङ्खलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानविरोधी अभिव्यक्ति जनतामाझ भ्रम सिर्जना गर्न र संक्रमणकाललाई लम्ब्याउन गरिएको प्रयास भएको उल्लेख गरे। “संविधानकै ढाँचाभित्र बसेर संविधानलाई अस्वीकार गर्नु केवल विरोधको शैली होइन, यो राजनीतिक नैतिकताको संकट हो,” प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा राजतन्त्र पुनर्स्थापनाको प्रयासमा संलग्न व्यक्तिहरूप्रति संकेत गर्दै भने। उहाँले राजनीतिक परिवर्तनपछि विकास र सुशासनका यात्रामा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै भने, “हामी जनअपेक्षाको सम्मान गर्दै अगाडि बढिरहेका छौँ। जायज मागहरूप्रति हामी सधैँ संवाद गर्न तयार छौँ। सडक होइन, संवादमार्फत समाधान खोज्नुपर्छ।” प्रधानमन्त्री ओलीले परराष्ट्र नीति र राष्ट्रिय हितका विषयमा पनि स्पष्ट धारणा राख्दै नेपाल कुनै पनि सामरिक गठबन्धनमा नजाने, बरु शान्तिपूर्ण सहअस्तित्व र असंलग्नताको मार्गमा अघि बढ्ने बताएका छन्। “हामी कसैको पक्षमा छैनौँ, तर हाम्रो स्वाभिमान, स्वाधीनता र राष्ट्रिय हित सधैँ पहिलोपंक्तिमा रहनेछ,” उनले भने। हिमालय र वातावरणको सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको हिमाली भूभागले जलवायु सन्तुलनमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै प्राकृतिक सम्पदाको संरक्षण राष्ट्रिय र अन्तरराष्ट्रिय दायित्व दुवै भएको उल्लेख गरे। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कूटनीतिक क्षेत्रमा क्रियाशील विज्ञहरूले नेपालको परराष्ट्र नीति र राष्ट्रिय हितका विविध पक्षमाथि दुई सत्रमा गहिरो छलफल गरेका थिए।