शाक्यको यो जित केवल व्यक्तिगत होइन, नेपालको अन्तर्राष्ट्रिय उपस्थितिमा नयाँ ढोका खोल्ने क्षण बनेको छ। दिगो विकासका सवालमा सक्रिय नेपालको आवाज अब ग्लोबल प्लेटफर्ममा सुन्ने अवसर बढेको छ।
काठमाडौं, २४ चैत। उज्वेकिस्तानको तास्केन्टमा सम्पन्न अन्तर–व्यवस्थापिका संघ (IPU) को सम्मेलनमा सांसद डा. अञ्जना शाक्यको जितले नेपालको अन्तर्राष्ट्रिय छवि बलियो बनाएको छ। एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवार बनेकी शाक्य दिगो विकास स्थायी समितिमा निर्वाचित भएपछि नेपाल पहिलोपटक यो प्रतिष्ठित समितिमा प्रतिनिधित्व गर्न सफल भएको छ।
शाक्यको उम्मेदवारी र जित सहज थिएन। माल्दिभ्स र इरानका प्रतिस्पर्धीलाई पछि पार्दै शाक्य विजयी भएकी हुन्, जसको पछाडि गहिरो कूटनीतिक तयारी र नेपालको पक्षमा गरिएको प्रभावकारी समर्थन अभियान थियो। सभामुख देवराज घिमिरेले आईपीयूमा आवद्ध ३६ देशका सभामुखहरूलाई पत्र लेख्दै शाक्यको अनुभव, योग्यता र नेपालको भूमिका उल्लेख गर्दै समर्थनको आग्रह गरेका थिए।
शाक्यले पनि व्यक्तिगत कूटनीति मार्फत समर्थन सुनिश्चित गर्ने प्रयास गरेकी थिइन्। “मैले पनि व्यक्तिगत रुपमा मेरो समर्थनका लागि आग्रह गरेकी थिएँ। हामी सबैको प्रयासले सफलता प्राप्त भयो,” शाक्यले जितपछि प्रतिक्रिया दिइन्।
पूर्व इजरायलकी नेपाली राजदूतसमेत रहेकी शाक्य हाल राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सदस्य र सोही समितिको दिगो विकास उपसमितिकी संयोजक हुन्। हालै उनले नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने विषयमा विस्तृत अध्ययन प्रतिवेदन तयार पारी सभामा प्रस्तुत गरेकी थिइन्।