काठमाडौं – नेपाल र थाइल्याण्डबीच व्यापारिक सहकार्यलाई अझ प्रभावकारी बनाउन संयुक्त वाणिज्य परिषद (जेबीसी) गठनको प्रक्रिया अघि बढ्ने भएको छ। बैंककमा आयोजित एक उच्चस्तरीय भेटवार्तामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलबीच यस विषयमा छलफल भएको हो।
महासंघले नेपालमा थाई लगानी आकर्षित गर्न आवश्यक सहजिकरण गर्ने प्रतिबद्धता जनाएको छ। नेपालमा लगानीमैत्री कानुनी सुधार र लगानी सुरक्षाको प्रत्याभूति गरिएको उल्लेख गर्दै अध्यक्ष ढकालले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माण क्षेत्रमा थाई लगानीकर्ताहरूसँग सहकार्यको अपार सम्भावना रहेको जानकारी दिए।
भेटवार्तामा महासंघले थाई व्यवसायीहरूलाई नेपालमा लगानीका अवसरहरूको प्रत्यक्ष अवलोकन गर्न आमन्त्रण गरेको छ। साथै, नेपाली नागरिकहरूका लागि थाइल्याण्डमा ‘अनअराइवल भिसा’ सहज बनाउन पहल गरिदिन आग्रह गरिएको छ।
संयुक्त वाणिज्य परिषद गठनका लागि महासंघका महानिर्देशक गोकर्णराज अवस्थी र जोइन्ट फरेन चेम्बर अफ कमर्श इन थाइल्याण्डकी अध्यक्ष विवेक लिज्याण्ड लिइरभागलाई जिम्मेवारी प्रदान गरिएको छ। यसअघि, नेपाल–कतार संयुक्त वाणिज्य परिषद गठन भइसकेको थियो भने पहिलो अध्यक्षस्तरीय बैठक कतारको राजधानी दोहामा सम्पन्न भएको थियो।
