काठमाडौं, २१ चैत । संघीय संसद अन्तर्गतका ६ वटा समितिको बैठक आज सिंहदरबारमा बस्दै छन्। यी बैठकहरू नीतिगत सुधार, कानुनी संशोधन, खेलकुद, कृषि, सामाजिक मामिला तथा सरकारी दायित्वहरूको अनुगमन जस्ता विविध विषयमा केन्द्रित हुनेछन्।
संघीय संसद सचिवालयका अनुसार बैठकहरू बिहान ११ः०० बजे देखी ११ः३० बजेका लागि तय गरिएको छ। समितिहरूले नेपाल सरकारको विभिन्न नीतिगत निर्णय, विधेयक संशोधन तथा प्रशासनिक सुधारबारे विस्तृत छलफल गर्नेछन्।
विकास, आर्थिक मामिला तथा सुशासन समिति: नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रक्रियामा गैरसरकारी संघसंस्था, नागरिक समाज तथा सरोकारवालासँग छलफल।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे युवा तथा खेलकुद मन्त्रालयसँग विशेष छलफल।
महिला तथा सामाजिक मामिला समिति: सामाजिक परिचालिकाहरूको व्यवस्थापन तथा भूमिकाबारे समीक्षा।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति: कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा तर्जुमाको चरणमा रहेको नयाँ कृषि नीतिबारे आवश्यक सुझाव संकलन।
कानून, न्याय तथा मानव अधिकार समिति: केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे दफावार छलफल।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति: नेपालको संविधानको धारा ५३ अनुसार संघीय संसदमा प्रस्तुत नेपाल सरकारको वार्षिक प्रतिवेदन (विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार) माथि विस्तृत छलफल।