काठमाडौं, २० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जनताको मत सर्वोपरि हुने भन्दै संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृतिलाई बिर्सन नहुने बताएका छन्। रेडियो नेपालको हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले लामो संघर्ष, त्याग र बलिदानपछि प्राप्त संविधानले नागरिकलाई आफ्ना विचार राख्ने स्वतन्त्रता दिएको उल्लेख गरे। तर, सो अधिकारको प्रयोग गर्दा जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ थियो। राष्ट्रपतिले स्वतन्त्रताको नाममा हिंसा, आगजनी, तोडफोड र लुटपाटजस्ता क्रियाकलापलाई संविधानले निषेध गरेको स्मरण गराउँदै यस्ता घटनाबाट जोगिन सबै गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताए। राष्ट्रपतिले लोकतान्त्रिक आन्दोलनमा सञ्चारमाध्यम, विशेष गरी रेडियो नेपालको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै संविधानमा प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको बताए। उनले पत्रकारिता क्षेत्रले लोकतन्त्रको मर्मलाई आत्मसात् गर्दै सत्यतथ्य सूचना सम्प्रेषणमा जोड दिनुपर्ने धारणा राखे। सूचना प्रविधि र सामाजिक सञ्जालको विकासले समाचार सम्प्रेषणको स्वरूपमा परिवर्तन ल्याएको उल्लेख गर्दै उनले प्रविधिको दुरुपयोगमार्फत भ्रम फैलाउने प्रवृत्तिबाट सचेत रहनुपर्ने बताए। राष्ट्रपति पौडेलले २००७ सालको क्रान्तिसँगै रेडियो नेपालको स्थापना नेपाली इतिहासका जुम्ल्याहा घटना भएको उल्लेख गर्दै, जनचेतना र लोकतान्त्रिक मूल्यमान्यताको विकासमा रेडियो नेपालले खेलेको भूमिकाको प्रशंसा गरे।