बैंकक, १९ चैत । नेपालको कूटनीतिक पहुँच विस्तार गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमणमा छन्। बङ्गालको खाडीकाे प्रयास (बिमस्टेक)काे छैटौं शिखर सम्मेलनमा भाग लिन उहाँ मंगलबार साँझ बैंकक आइपुग्नुभएको हो। प्रधानमन्त्री ओलीको यो भ्रमण थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा भएको हो। नेपालका प्रधानमन्त्रीले पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण गर्नु ऐतिहासिक कूटनीतिक उपलब्धि मानिएको छ। बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ, थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली तथा नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहित उच्च अधिकारीहरूले भव्य स्वागत गरे। प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, आर्थिक-विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारीहरू सहभागी छन्। प्रधानमन्त्री ओलीको यो भ्रमण नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउँदै आर्थिक तथा प्राविधिक सहयोगका सम्भावनाहरू खोज्ने अवसरका रूपमा हेरिएको छ। बिमस्टेक शिखर सम्मेलनमा नेपालले क्षेत्रीय व्यापार, लगानी, पूर्वाधार विकास तथा यातायात प्रविधिको क्षेत्रमा महत्वपूर्ण पहल गर्ने अपेक्षा गरिएको छ। नेपालले बिमस्टेकलाई आर्थिक तथा प्राविधिक सहकार्यका लागि उपयोग गर्दै आफ्ना प्राथमिकताहरू प्रस्तुत गर्ने तयारी गरेको छ।