काठमाडौं । नागरिक लगानी कोषले शिक्षा तथा जलविद्युत् क्षेत्रमा ठूला लगानी सम्झौताहरू गर्दै अगाडि बढेको छ। पूर्वाञ्चल विश्वविद्यालयसँग योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्न तथा दुईवटा जलविद्युत् कम्पनीको सेयर प्रत्याभूति गर्न कोषले सहमति गरेको छ।
पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ मोरङ र नागरिक लगानी कोषबीच सम्पन्न सम्झौतामा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलिया र कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले हस्ताक्षर गरेका छन्। सम्झौताअन्तर्गत विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको उपदान तथा पेन्सन व्यवस्थापन गर्न कोषले सक्रिय भूमिका निर्वाह गर्नेछ। उपकुलपति थपलियाले विश्वविद्यालयका कर्मचारीको दीर्घकालीन सुरक्षाका लागि यो सम्झौता महत्वपूर्ण हुने बताए भने कोषका कार्यकारी निर्देशक कार्कीले उपदान योजनालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्दै सहभागीहरूलाई उचित प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे।
यसै क्रममा नागरिक लगानी कोषले जलविद्युत् क्षेत्रमा पनि लगानी विस्तार गर्दै सानिगाड हाइड्रो लिमिटेडसँग प्रति कित्ता १०० रुपैयाँ अंकित ८५ लाख ५० हजार कित्ताको ८५ करोड ५० लाख रुपैयाँको सेयर प्रत्याभूति गर्ने सम्झौता गरेको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
यसबाहेक, कोषले कालंगा हाइड्रो लिमिटेडसँग पनि प्रति कित्ता १०० रुपैयाँ अंकित ४९ लाख कित्ताको ४९ करोड रुपैयाँको सेयर प्रत्याभूति गर्ने सम्झौता गरेको छ। यस सम्झौतामा कोषका कार्यकारी निर्देशक कार्की र कालंगा हाइड्रोका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन्।