काठमाडौं – सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार अबेर राति बसेको बैठकले राष्ट्रपतिसमक्ष मङ्गलवार राति १२ बजेबाट अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो।
यो निर्णयसँगै सरकारको रणनीतिक सोचबारे विभिन्न अड्कल हुन थालेका छन्। संसद् अधिवेशन जारी राख्दा सरकारलाई विभिन्न संवैधानिक र राजनीतिक चुनौती थपिने आँकलन भइरहेका बेला सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।
यसअघि सभामुख देवराज घिमिरेले मङ्गलवार दिउँसो ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइसकेका छन्। गएको १८ माघमा सुरु भएको यो हिउँदे अधिवेशन करिब दुई महिनामै टुंगिन लागेको हो।
संविधानको धारा ९३ अनुसार संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने अधिकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिसँग निहित छ।