काठमाडौं, १८ चैत्र । सापटीको रकम विवादका कारण १९ वर्षीय राहुल साहको हत्या भएको छ। गोकर्णेश्वर नगरपालिका–५, बाहुनधारामा बस्ने राहुल ११ चैतको साँझ घरबाट निस्किएपछि बेपत्ता भएका थिए। परिवारका अनुसार उनी सर्लाहीका निपु मण्डललाई सापटी दिएको रकम माग्न गएका थिए।
राहुलको खोजी गर्दै प्रहरी बौद्ध पुगेपछि अनुसन्धान क्रममा माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपमा गम्भीर शंका गरियो। प्रारम्भिक खोजतलासले कुनै ठोस प्रमाण नदिए पनि १५ चैतमा पुनः गहिरो अनुसन्धान गर्दा वर्कसप पछाडिको जमिनमा शंकास्पद गतिविधि देखियो। उत्खननपछि प्रहरीलाई चकित पार्ने गरी वर्कसपकै भित्र खाल्डोमा गाडिएको अवस्थामा राहुलको शव भेटियो।
प्रहरीले अनुसन्धानलाई तीव्रता दिँदै वर्कसप सञ्चालक निपु मण्डलसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा निपु मण्डल, बिहारका सुनिल शर्मा, सर्लाहीका विजय यादव, करनकुमार महतो, जोधन मण्डल र उत्तम मण्डल रहेका छन्।
प्रहरीका अनुसार राहुलले निपुलाई १ लाख १० हजार रुपैयाँ सापटी दिएका थिए। उक्त रकम फिर्ता माग्दा विवाद उत्पन्न भई उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बारम्बार पैसा मागेको झोंकमा निपु र उनका सहयोगीहरूले योजनाबद्ध रूपमा राहुलको हत्या गरेको देखिएको छ। राति ११ बजेतिर हत्या भएपछि शव गाडेर प्रमाण नष्ट गर्न खोजिएको प्रहरीको भनाइ छ।
प्रहरीले घटनाका मुख्य योजनाकार निपु, विजय, र करनलाई ठहर गरेको छ। हत्यापछि भागेर सर्लाही पुगेका विजय र करनलाई सर्लाहीबाट पक्राउ गरिएको हो भने अन्य तीन जनालाई काठमाडौंका विभिन्न स्थानबाट समातिएको हो।
काठमाडौं जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न थप अनुसन्धान भइरहेको छ।