काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिर्नुपर्ने निर्णयलाई हास्यास्पद र भ्रामक बताएका छन्। थापाले सामाजिक सञ्जालमार्फत महानगर प्रमुख बालेन्द्र शाहको निर्णयप्रति आश्चर्य व्यक्त गर्दै भने, “गलत ठेगानामा पठाइएको पत्र, गलत निर्णय। यस्तो स्टन्ट आवश्यक थिएन।” उनका अनुसार, तीनकुनेमा चैत १५ गते भएको कार्यक्रम स्थानीय प्रशासनको अनुमति लिएर आयोजना गरिएको थियो, त्यसैले पूर्वराजालाई जरिवाना तिराउने कुनै आधार छैन। थापाले महानगरले पत्रमा प्रयोग गरेको भाषाप्रति पनि आपत्ति जनाउँदै यस्ता निर्णयहरू अनुचित भएको बताए। उनले भने, “यो निर्णय अव्यवहारिक मात्र होइन, जानाजानी विवाद सिर्जना गर्ने प्रयास पनि हो।”