गुजरातको भुज शहरस्थित श्री सहजानन्द गर्ल्स इन्स्टिट्युट (एसएसजीआई) मा छात्राहरूलाई अपमानजनक र अमानवीय व्यवहारको शिकार बनाइएको छ। कलेज प्रशासनले महिनावारी भएका छात्राहरूको पहिचान गर्न अठसठ्ठीजना छात्राहरूलाई जबरजस्ती जाँच गराएको घटना सार्वजनिक भएको छ। शिक्षा जस्तो पवित्र क्षेत्रभित्र पनि यस्ता कुप्रथाहरू जीवित छन् भन्ने तथ्य यो घटनाले पुनः उजागर गरेको छ। पीडित छात्राहरूका अनुसार कक्षाबाट निकालेर उनीहरूलाई शौचालयमा लगिएको थियो। महिला शिक्षिकाहरूको अगाडि भित्री वस्त्र फुकाल्न बाध्य पार्दै महिनावारी भएको प्रमाणित गर्न दबाब दिइयो। यस घटनापछि कलेज प्रशासनको कडा आलोचना भइरहेको छ। पीडितहरूले मानसिक तनाव र लज्जास्पद अनुभूति भोग्नु परेको बताएका छन्। शिक्षालयभित्र यस्ता अपमानजनक अभ्यास किन कायम छन्? महिनावारीलाई अझैपनि कलंकका रूपमा हेरिनु कहिलेसम्म? यी प्रश्नहरूले अहिले भारतीय समाजलाई पुनः झकझक्याइरहेको छ।