+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वास्थ्य/जीवनशैली

महिलाहरूका लागि निःशुल्क स्तन र पाठेघरको क्यान्सर परीक्षण सुरु

महानगरपालिकाका मेडिकल अधिकृत डा. दिवश न्यौपानेका अनुसार, ‘‘सिआइएन (सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया) क्यान्सरको प्रारम्भिक अवस्था हो, जसको समयमा नै उपचार भएमा जटिलता कम गर्न सकिन्छ ।’’

जनवाच
३ हप्ता अगाडी

काठमाडौँ । महिलाहरूमा देखा पर्ने स्तन तथा पाठेघरको क्यान्सर समयमै पहिचान गर्न काठमाडौं महानगरपालिकाले दोस्रो चरणको निःशुल्क परीक्षण अभियान सुरु गरेको छ । वीर अस्पतालमा सुरु भएको परीक्षणको पहिलो दिन ४३ जना महिलाले सेवा लिएका छन् ।

महानगरपालिका र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को सहकार्यमा आयोजित यो अभियान २०८२ वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ । परीक्षण कार्यक्रमको उद्घाटन स्वास्थ्य मन्त्री प्रदीप पौडेल, महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल तथा न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले गर्नुभएको थियो ।

स्वास्थ्यविद्हरूका अनुसार नेपालमा महिलाहरूमा क्यान्सरको लक्षण नदेखिएसम्म परीक्षण गराउने चलन छैन, जसले गर्दा उपचार गर्न ढिलो भई ज्यान जोखिममा पर्ने सम्भावना बढ्छ । महानगरपालिकाका उपप्रमुख डंगोलका अनुसार, ‘‘समयमै परीक्षण गरेमा उपचार सम्भव छ, त्यसैले महिलाहरूले यस अभियानलाई अवसरका रूपमा लिनुपर्छ ।’’

परीक्षणका लागि महिलाहरूले आफू नजिकको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर नाम दर्ता गराउनुपर्नेछ । त्यहाँबाट रेफरल स्लिप प्राप्त भएपछि वीर अस्पतालको सर्जिकल भवनमा परीक्षण गराउन जान सकिन्छ ।

महिलाहरूको स्तन क्यान्सर परीक्षण अन्तर्गत क्लिनिकल जाँच गरिन्छ, जसमा शंका लागेमा अल्ट्रासाउन्ड तथा मेमोग्राफी गरिन्छ । पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि एचपिभी डीएनए पिसिआर परीक्षण हुन्छ, जसमा पोजेटिभ देखिए कल्पोस्कोपी र बायोप्सी गरिन्छ ।

गत वर्ष महानगरपालिकाले सञ्चालन गरेको पहिलो चरणको परीक्षणमा ८,१४५ जना महिलाहरूले सेवा लिएका थिए । त्यस क्रममा ६,६२४ जनामा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न एचपिभी डीएनए परीक्षण गरिएको थियो, जसमा ४५३ जना पोजेटिभ देखिएका थिए ।

त्यसैगरी, स्तन क्यान्सर परीक्षणमा ३१८ जनाको भिडियो एक्सरे गरिएको थियो भने २८ जनाको मेमोग्राफी गरिएको थियो । १५ जनाको माइक्रोस्कोपिक परीक्षण गरिएको थियो, जसमा १ जनामा स्तन क्यान्सर पुष्टि भएको थियो ।

विशेषगरी निम्न समूहका महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना उच्च हुन्छ:

१६ वर्षभन्दा कम उमेरमा यौन सम्पर्क राखेका,

१ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका,

महिनावारीको पहिलो वर्षभित्रै यौन सम्पर्कमा रहेका,

धूम्रपान गर्ने,

प्रतिरक्षा प्रणाली कमजोर भएका,

धेरै पटक गर्भवती भएका तथा

कहिल्यै जाँच नगराएका ।

विशेषज्ञहरूका अनुसार, ३० देखि ६० वर्ष उमेरका महिलाले कम्तीमा पाँच–पाँच वर्षमा एक पटक पाठेघरको मुखको क्यान्सर परीक्षण गराउनुपर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ