सिडनी, १२ चैत – अष्ट्रेलियाली मोडल कोडी एस्प्लेटलाई बाल दुर्व्यवहार र जनावरमाथि यौन शोषण जस्ता जघन्य अपराधमा संलग्न भएको आरोप लागेको छ। उनीमाथि ९२ वटा गम्भीर अभियोग लगाइएको छ, जस मध्ये ६ वटा आरोप उनले अदालतसमक्ष स्वीकार गरिसकेकी छन्। २७ वर्षीया एस्प्लेटले भिडियो लिङ्कमार्फत अदालतमा उपस्थित भएर जनावरहरूसँग यौन दुर्व्यवहार, धम्कीपूर्ण सञ्चार सेवा प्रयोग, बाल यौन शोषण सामग्री राख्ने र वितरण गर्ने जस्ता अपराधहरू स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मिडिया रिपोर्टअनुसार यी अपराधहरू पुष्टि भएमा उनलाई कम्तीमा १० वर्ष जेल सजाय हुनसक्ने छ। आगामी अगस्ट महिनामा भिक्टोरिया काउन्टी अदालतमा उनको सजाय निर्धारण सुनुवाइ हुनेछ। प्रहरीले एस्प्लेटविरुद्ध करिब १,००० पृष्ठभन्दा बढी प्रमाण अदालतमा पेश गरेको छ। प्रमाणअनुसार उनले २०२३ को नोभेम्बर २९ मा मेलबर्नमा जानाजानी जनावरसँग यौन सम्बन्ध राखेको थियो र त्यसको तस्बिर खिचेकी थिइन्, जुन प्रमाणका रूपमा अदालतमा पेश गरिएको छ। अनुसन्धानका क्रममा एस्प्लेटले बाल यौन शोषण सामग्री आदान-प्रदान गर्ने समूहमा सक्रिय भूमिका खेलेको पाइएको छ। अष्ट्रेलियाली प्रहरी र संयुक्त बाल शोषण विरोधी टोलीले यसबारे थप अनुसन्धान गरिरहेको छ। १८ वर्षको उमेरदेखि मोडलिङ गर्दै आएकी एस्प्लेट कुनै ठूला प्रोजेक्टमा आबद्ध थिइनन्। सामाजिक सञ्जालमा १३ हजारभन्दा बढी फलोअर्स भए पनि यस घटनापछि उनको खाता हटाइएको छ।