दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित एक प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा लिन सुरक्षा निकाय र स्थानीयवासीलाई हम्मेहम्मे परेको छ। आज बिहान करिब २ बजे सुरु भएको आगलागी सात घण्टा बित्दा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
आगो निभाउन दाङका तीनवटा दमकल मात्र पर्याप्त नभएपछि बाँके, बर्दिया, कपिलवस्तु र रुपन्देहीबाट थप दमकल मगाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए। सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयका अग्नि नियन्त्रण टोलीसमेत खटिए पनि आगोको भयावहता कम हुन सकेको छैन।
गणपती नामक उक्त उद्योगले सांग्रिला ब्राण्डको प्लाई उत्पादन गर्दै आएको थियो। करिब सात बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा ठूलो मात्रामा काठ र अन्य ज्वलनशील कच्चा पदार्थ भएका कारण आगो झन् तीव्र बनेको छ।
प्रजिअ लम्सालका अनुसार उद्योगको संरचना पूर्ण रूपमा ध्वस्त भइसकेको छ, तर बस्तीमा आगो फैलन नदिन विशेष सतर्कता अपनाइएको छ। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी इन्स्पेक्टर कविराज रोकायका अनुसार प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करोडौँको क्षति भएको छ, तर वास्तविक विवरण आगो पूर्ण रूपमा निभाएपछि मात्रै खुल्नेछ।