काठमाडौं, ११ चैत – राजधानीको मुख्य यातायात केन्द्र गोँगबुस्थित नयाँ बसपार्क यात्रु असुरक्षा, झैझगडा र असुविधाका कारण चर्चित हुँदै आएको थियो। तर, यात्रुहरूलाई सुरक्षित, व्यवस्थित, र सहज यात्रा सुनिश्चित गर्न ३७० जनालाई कारबाही गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आइतबार आयोजना गरेको कार्यक्रममा नयाँ बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन चालेका पहल सार्वजनिक गरिएका थिए। महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर का अनुसार, नेपाल प्रहरी, यातायात व्यवसायी र मजदुर सबै पक्ष जिम्मेवार भएर लागे मात्र बसपार्कभित्रको अस्तव्यस्तता अन्त्य गर्न सकिनेछ। बसपार्कभित्र हुने यात्रुहरूमाथि झोला तान्ने, अनावश्यक दुःख दिने, असुरक्षित वातावरण सिर्जना गर्ने गतिविधिलाई रोक्न महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले विशेष जोड दिए। उनले यात्रुहरूसँग जबर्जस्ती टिकट बिक्री गर्ने, लोभ्याएर गन्तव्य परिवर्तन गराउने जस्ता क्रियाकलाप रोक्नुपर्नेमा जोड दिए। प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक निरन्जन थापा ले बसपार्कलाई मर्यादित बनाउन प्रहरी सक्रिय रूपमा लागेको बताए। उनका अनुसार, चालु आर्थिक वर्षमा पक्राउ परेकामध्ये ८ जनामाथि मुद्दा दायर गरिएको छ। नयाँ बसपार्कमा ७० जिल्लाका गन्तव्य जोडिएका छन्। यात्रुहरूको सुरक्षाका लागि बसपार्कभित्र कार्यरत कर्मचारीलाई पोशाक र परिचयपत्रको व्यवस्था गरिएको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्ल ले जानकारी दिए। अब यात्रुहरू कुनै पनि समस्यामा परेमा सरकारी निकाय वा कर्मचारीसँग सहजै सम्पर्क गर्न सक्ने वातावरण बनाइएको छ।