+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

नेपालको निर्यातमा उल्लेखनीय वृद्धि, व्यापार घाटा भने अझै चुनौतीपूर्ण

चालु बर्षको  व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.२२ प्रतिशतले बढी हो। आयातको तुलनामा निर्यात दर अझै न्यून भएकाले व्यापार असन्तुलन नेपालको आर्थिक क्षेत्रमा चुनौतीका रूपमा रहेको छ ।

जनवाच
१ महिना अगाडी

काठमाडौं, ७ चैत । चालु आर्थिक वर्ष २०८१/८२ को  वस्तु निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ। भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार निर्यात ५७.२० प्रतिशतले बढेको छ।

गत वर्ष सोही अवधिमा नेपालले १ खर्ब ६ अर्ब १७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेकोमा यस वर्ष फागुन मसान्तसम्म १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात भएको छ। विशेषगरी, सोयाबिन तेलजस्ता वस्तुहरूको निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ।

बिगतका दुई आर्थिक वर्षमा निर्यातमा गिरावट देखिए पनि पछिल्ला केही महिनामा निर्यात दर चमत्कारिक रूपमा उकालो लागेको छ। अमेरिकी डलरको विनिमय दर बढ्दा निर्यातबाट प्राप्त विदेशी मुद्रा नेपाली रुपैयाँमा अझ उच्च देखिएको जानकारहरू बताउँछन्।

तर, निर्यातसँगै आयात पनि बढेको छ। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आयात ११.२० प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ पुगेको छ। नेपाल सरकारलाई राजस्वको मुख्य स्रोत नै आयात भएकाले यसलाई सकारात्मक रूपमा हेर्नेहरू पनि छन्। तर, नेपालमै उत्पादित वस्तुहरू पनि बाहिरबाट आयात भइरहेकाले यसलाई दीर्घकालीन रूपमा निराशाजनक अवस्था मान्ने विज्ञहरू छन्।

यस्तै, व्यापार घाटा पनि बढ्दै गएको छ। चालु बर्षको  व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.२२ प्रतिशतले बढी हो। आयातको तुलनामा निर्यात दर अझै न्यून भएकाले व्यापार असन्तुलन नेपालको आर्थिक क्षेत्रमा चुनौतीका रूपमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ