काठमाडौं, ५ चैत । नेपाल र दक्षिण कोरियाबीचको व्यापार असन्तुलन झन् गहिरिंदै गएको छ। पछिल्लो तथ्यांकअनुसार, नेपालले कोरियाबाट वार्षिक करिब ८ अर्ब ७० करोड रुपैयाँको वस्तु आयात गर्दा कोरियामा मात्र ३३ करोड ५० लाख रुपैयाँ बराबरको नेपाली उत्पादन निर्यात भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कोरियाली लगानी मूल्याङ्कन टोलीसँगको भेटमा नेपालको निर्यात क्षमतामा सुधार गर्न आवश्यक रहेको औंल्याए। उनले नेपालमा लगानीको अनुकूल वातावरण रहेको उल्लेख गर्दै कोरियाली लगानीकर्ताहरूलाई रोजगारी सिर्जना र मुनाफा आर्जनका लागि लगानी गर्न आग्रह गरे।
नेपाल र कोरियाबीच १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बन्ध मजबुत बन्दै गएको मन्त्री भण्डारीले बताए। “हाम्रा दुई देशबीचको मित्रता, समझदारी र आपसी सहयोग बढ्दै गएको छ। कृषि, उद्योग, पर्यटन, निर्यात प्रवर्द्धन तथा जलविद्युत विकासमा कोरियाली ज्ञान, प्रविधि र अनुभवबाट नेपाल लाभान्वित हुन चाहन्छ,” उनले भने।
हाल कोरियाली कम्पनीहरू स्यामसङ इलेकट्रोनिक्स र हुन्डाई मोटर्सले नेपालमा एसेम्बलिङ्ग प्लान्ट स्थापना गरी क्रमशः टिभी सेट र कार उत्पादन गरिरहेका छन्, जसले उद्योग तथा व्यापारिक सम्बन्धलाई थप सशक्त बनाएको छ। मन्त्री भण्डारीले कोरिया नेपालका लागि वैदेशिक लगानीको प्रमुख स्रोत रहेको उल्लेख गर्दै आगामी वर्षहरूमा लगानी वृद्धि हुने विश्वास व्यक्त गरे।
नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवको अवसरमा २०२४ डिसेम्बरमा द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्कमा हस्ताक्षर गरिएको छ। यो सम्झौताले व्यापार असन्तुलन घटाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
मन्त्री भण्डारीले वर्तमान सरकार विदेशी लगानीकर्ताहरूलाई आवश्यक नीतिगत स्थायित्व र सुरक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए। उनले जलविद्युत, उत्पादन र पर्यटनजस्ता क्षेत्रमा सहकार्यका व्यापक सम्भावना रहेको औंल्याउँदै कोरियाली व्यवसायहरूलाई नेपालमा लगानी साझेदारीको अवसर खोज्न आग्रह गरे।