काठमाडौं – नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको संयुक्त बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने तय गरिएको छ।
समसामयिक राजनीतिक अवस्थाबारे महत्वपूर्ण छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ। विशेष गरी हालै राजसंस्था पक्षधरहरूको प्रदर्शनपछि गणतन्त्रवादी शक्तिहरूको भूमिकाबारे समीक्षा गर्ने तयारी गरिएको स्रोतले जानकारी दिएको छ।
बैठकमा सरकारका हालका गतिविधि, नीति तथा कार्यक्रम, गठबन्धनको अवस्था र पार्टीको आगामी रणनीतिबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। कांग्रेस नेतृत्वले पार्टीभित्रको आन्तरिक व्यवस्थापन र सरकारमा पार्टीको भूमिका समेत समीक्षा गर्ने सम्भावना छ।