काठमाडौं, चैत ३ – नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनीयताको सपथ लिएकी छन्। आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष सपथ ग्रहण गरिन्। गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो। बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, र सर्वसुलभ बनाउने उद्देश्यका साथ उनले पदभार ग्रहण गरेको बताइएको छ। सपथ ग्रहण समारोहका अवसरमा अर्थमन्त्री पौडेलले बीमाले आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने उल्लेख गर्दै, बीमा प्रणाली प्रभावकारी बनाउन आवश्यक सुधारको खाँचो औंल्याए। “बीमा क्षेत्रमा कोही पनि पीडित हुन नहुने र कसैले गलत फाइदा उठाउने अवसर नपाउने व्यवस्था गर्न आवश्यक छ,” उनले भने।