काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक तथा सांस्कृतिक मान्यताकै कारण महिलाहरू पछाडि परिरहेको बताउँदै महिला सशक्तीकरणका लागि सोचाइ र संरचनागत परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ।
शनिबार एमाले केन्द्रीय कार्यालयमा आयोजित ‘राजनीतिमा महिलाको प्रतिनिधित्व र सहभागिता प्रवर्द्धनका लागि राजनीतिकर्मी भूमिका’ विषयक कार्यक्रममा महासचिव पोखरेलले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
उहाँले संविधान र निर्वाचनसम्बन्धी कानुनमा महिलाहरूका लागि व्यवस्था गरिएको आरक्षण तथा अधिकारको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो। साथै, महिलाहरूलाई नीति निर्माण तहसम्म पुर्याउन एमालेले विशेष भूमिका खेल्दै आएको दाबी गर्नुभयो।
‘समावेशिता संघीय लोकतान्त्रिक गणतन्त्रको बलियो आधार हो,’ महासचिव पोखरेलले भन्नुभयो, ‘एमालेले समावेशी सिद्धान्तअनुसार नीति निर्माण तहमा महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न अग्रसरता लिएको छ।’
महिला सहभागिताको दृष्टिले एमाले अन्य दलहरूभन्दा अगाडि रहेको बताउँदै महासचिव पोखरेलले पार्टीले महिलाहरूलाई उच्च तहमा नेतृत्व दिन निरन्तर पहल गरिरहेको स्पष्ट पार्नुभयो।