काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालैको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट युवा संगठनले प्रदर्शन गरेको छ। शनिबार हेटौंडामा आयोजित जिल्ला अधिवेशनका क्रममा युवा संगठनका कार्यकर्ताहरूले आक्रोशित हुँदै प्रचण्डको तस्वीर जलाएका छन्।
राप्रपा युवा संगठन मकवानपुरका सचिव नीराजन बम पताँलले गणतन्त्र विरोधी नारासहित प्रचण्डको तस्वीर जलाउँदै असन्तोष प्रकट गरेका थिए। कार्यक्रममा राप्रपाका केन्द्रीय नेता तथा सांसद दीपकबहादुर सिंह समेतको उपस्थिति रहेको थियो।
यो घटना सिन्धुपाल्चोकमा आयोजित सभामा प्रचण्डले पूर्वराजालाई संविधानको दायराभित्र रहन सचेत गराउँदै ‘इँटको जवाफ पत्थरले दिने’ चेतावनी दिएपछि भएको हो। उक्त अभिव्यक्तिपछि राप्रपा नेतृत्व आक्रामक बनेको देखिन्छ।
यसअघि पनि राप्रपाका महामन्त्री धवल शमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रचण्डको भनाइप्रति कडा प्रतिक्रिया दिँदै आलोचना गरेका थिए। उनीहरूले गणतन्त्रप्रति असहमति राख्दै पूर्वराजसंस्थालाई कमजोर बनाउने प्रयासस्वरूप यस्तो अभिव्यक्ति आएको दाबी गरेका छन्।