+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

प्रधानमन्त्री ओलीद्वारा इजिप्टका राष्ट्रपतिसँग वार्ता, विपिन जोशीको रिहाइमा सहयोगको आग्रह

टेलिफोन वार्तामा प्रधानमन्त्री ओलीले इजिप्टलाई जलवायु परिवर्तन, हिमाल संरक्षण र मानव जीवनका सवालमा वैश्विक सहकार्य आवश्यक रहेको बताए।

जनवाच
१ महिना अगाडी

काठमाडौं, २८ फागुन – हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र र सुरक्षित रिहाइका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीसँग टेलिफोन संवाद गरेका छन्।

प्रधानमन्त्री ओलीले इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कार्यरत जोशीको उद्धारका लागि इजिप्टको कूटनीतिक पहल आवश्यक रहेको औंल्याउँदै राष्ट्रपति अल–सिसीलाई थप प्रयास गर्न आग्रह गरे। जवाफमा राष्ट्रपति अल–सिसीले विपिन जोशीको रिहाइका लागि आफ्नो निरन्तर प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा नेपाली विद्यार्थी विपिन जोशी बन्धक बनाइएका थिए। युद्धको चपेटामा परेका नेपालीको उद्धारका लागि नेपाल सरकारले विभिन्न मुलुकहरूसँग समन्वय गरिरहेको छ। इजरायल र हमासबीच भइरहेको बन्दी आदानप्रदान प्रक्रियामा जोशीलाई प्राथमिकतामा राख्न नेपालले निरन्तर कूटनीतिक पहल गरिरहेको छ। प्रधानमन्त्री ओलीले यस क्रममा इजिप्ट, कतार, संयुक्त राज्य अमेरिका लगायतका देशहरूको सहयोग महत्वपूर्ण हुने बताएका छन्।

टेलिफोन वार्तामा प्रधानमन्त्री ओलीले इजिप्टलाई जलवायु परिवर्तन, हिमाल संरक्षण र मानव जीवनका सवालमा वैश्विक सहकार्य आवश्यक रहेको बताए। उनले यही जेठ २–४ गते काठमाडौंमा आयोजना हुने सगरमाथा संवाद कार्यक्रमका लागि राष्ट्रपति अल–सिसीलाई औपचारिक निमन्त्रणा समेत गरे।

नेपालले पहिलो पटक जलवायु परिवर्तन तथा वातावरणीय मुद्दामा केन्द्रित सगरमाथा संवाद आयोजना गर्न लागेको हो। यस संवादमा विभिन्न राष्ट्रका नेताहरू, वैज्ञानिकहरू र वातावरणविद्हरू सहभागी हुनेछन्। इजिप्टले कोप–२७ जलवायु सम्मेलन आयोजना गरिसकेको अनुभव रहेको हुँदा यस विषयमा नेपाल र इजिप्टबीच सहकार्य गर्न सकिने प्रधानमन्त्री ओलीले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ