काठमाडौं, फागुन २७ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निलम्बनप्रति आपत्ति जनाएका छन्। उनले लामिछानेलाई अनुचित ढंगले सांसदबाट निलम्बन गरिएको भन्दै लोकतन्त्रलाई कमजोर पार्ने गतिविधिहरू भइरहेको आरोप लगाए।
मंगलबार प्रतिनिधि सभामा बोल्दै प्रचण्डले प्रतिपक्षी दलको आवाज दबाउने प्रयास भइरहेकाले लोकतन्त्रप्रति जनविश्वास घट्ने चेतावनी दिए। “हिरासतमा नरहेका नेतालाई संसद्मा उपस्थित हुन दिने प्रचलन पहिल्यैदेखि रहिआएको छ। तर, लामिछानेलाई अनुचित ढंगले निलम्बन गरेर संसद्मा प्रवेश रोकिएको छ, यो लोकतान्त्रिक मूल्यमान्यताविपरीत छ,” उनले भने।
प्रचण्डले सरकारकै निर्देशनमा लामिछानेलाई ठाउँ-ठाउँमा घुमाएर अपमान गर्ने प्रयास भइरहेको बताए। “लोकतन्त्रलाई बलियो बनाउन संसद्भित्रै छलफल आवश्यक हुन्छ। तर, स्थान-स्थानमा घुमाएर हुर्मत लिने कार्यले लोकतन्त्र सुदृढ हुँदैन,” उनले चेतावनी दिए।