काठमाडौं, फागुन २७ – प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सुशासन र समृद्धिको दिशामा सरकार निरन्तर क्रियाशील रहेको बताएका छन्। आइतबार कोशी प्रदेश सभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानको रक्षा गर्दै आवश्यकतानुसार जनताको पक्षमा संशोधन गर्दै जाने प्रतिबद्धता जनाए।
प्रधानमन्त्री ओलीले मुलुकलाई पछाडि फर्काउने होइन, आधुनिक, समृद्ध र आत्मनिर्भर बनाउने दिशामा अघि बढ्नुपर्नेमा जोड दिए। “हामी केवल गरिबी हटाउने होइन, समग्र रूपमा आर्थिक, सामाजिक र जैविक विकास गर्दै देशलाई समृद्धिको बाटोमा डोर्याउन चाहन्छौँ,” उनले भने।
रोजगारी र उद्यमशीलताको प्रवर्द्धनमा जोड
प्रधानमन्त्री ओलीले रोजगारीका अवसर सिर्जना गर्न उद्यमशीलता र लगानी प्रवर्द्धनमा सरकार केन्द्रित रहेको बताए। “रोजगारी सिर्जना हाम्रो प्रमुख प्राथमिकता हो। युवाहरूलाई अवसर प्रदान गर्दै मुलुकलाई आत्मनिर्भर बनाउन हामीले ठोस योजनाहरू अघि बढाएका छौँ,” उनले भने।
सङ्घीयता सुदृढ गर्दै आर्थिक विकासको गति तीव्र पार्ने लक्ष्य
प्रधानमन्त्री ओलीले सङ्घीयता कार्यान्वयनको प्रक्रिया सुशासनका माध्यमबाट थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। उनले तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको भन्दै सबैलाई राष्ट्रको समृद्धिमा योगदान दिन आह्वान गरे।
त्यसअघि, प्रधानमन्त्री ओलीले मोरङको गोठगाउँमा आयोजित पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहलाई पनि सम्बोधन गरेका थिए।
